संस्कृत पृष्ठभूमिका मानिस संगत, नयाँ विचारप्रतिको आकर्षण वा राजनीतिक लहरका कारण कम्युनिस्ट बन्नु सामान्य मान्न सकिएला, कतिपय व्यक्ति त कम्युनिस्ट विचारधारामा सक्रिय रहँदारहँदै कर्मकाण्ड गर्ने पण्डितका रूपमा पनि देखिने गरेका छन्।

नेपालको शैक्षिक इतिहासमा संस्कृत पाठशालाको महत्त्वबारे मैले केही वर्षदेखि खोजी गरिरहेको छु। त्यस क्रममा केही मानिसहरू संस्कृतसँग जोडिएका र अमिल्दो देखिने जस्ता प्रश्न मसँग गरिरहन्छन्। त्यसमध्ये बारम्बार ठोक्किने एउटा प्रश्न हो, संस्कृत पढेका बाहुनहरू कसरी कम्युनिस्ट भए?
यस प्रश्नको उत्तरलाई मैले ‘संस्कृत पढ्नेहरूले आधुनिक विचार अपनाउनु हुँदैन र’ भन्ने सरल तर्कमा सीमित गरिदिन सक्थेँ। तर, यसलाई त्यति हल्का लिइनँ। किनभने, यस प्रश्नले संस्कृत शिक्षाको अर्थ-राजनीतिलाई बुझ्ने एउटा ढोका खोलिदिन सक्थ्यो। नेपालमा संस्कृत शिक्षाको इतिहासलाई गहिरिएर हेर्दा यो परम्परागत भनिए पनि आधुनिक विचार, शिक्षा, राज्य संयन्त्र र राज्य रूपान्तरणसँग समेत गाँसिएको देखिन्छ।
यद्यपि, ऐतिहासिक हिसाबले नै संस्कृत शिक्षा बाहुन समुदायसँग जोडिएकाले यो विवादमा परिरह्यो। कुनैबेला यतिसम्म जोडिएको थियो कि, वेद पढ्दापढ्दै कुनै दलितले बाटो काट्दै गरेको देखेमा वटुकहरूले पढाइ ठप्प रोक्थे। ऊ गएपछि मात्रै पढाइ सुरु हुन्थ्यो। दलितको के कुरा, ब्राह्मण महिलाहरूले समेत वेद पढ्न र पढेको सुन्न हुँदैन भनिन्थ्यो। पढ्ने काम भनेकै बाहुन पुरुषहरूको थियो।
कुनै जातविशेषका पुरुषले यस शिक्षालाई ऐतिहासिक हिसाबले अँगालेको तर्क प्रस्तुत गर्दै नेपालमा दशक लामो सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन माओवादी विद्रोहीले कतिपय संस्कृत अध्ययन संस्थान बन्द गराएका थिए। शिक्षालयका कागजपत्र जलाइदिएका थिए। यस हिसाबले पनि कम्युनिस्ट र संस्कृतलाई मानिसहरूले परस्पर विरोधी विषयका रूपमा लिए।
मानिसहरूको अनुभवमा संस्कृत र बाहुनको ऐतिहासिक सम्बन्ध तथा नयाँ विचारसँगको टकराव माओवादी विद्रोहले अद्यावधिक गरायो। यस सन्दर्भमा कतिपयलाई संस्कृत पढेका मानिसहरू कम्युनिस्ट हुन्छन् र भन्ने शंका लागेको हो। तर, संस्कृत शिक्षाको अर्थ-राजनीति बृहत् छ। जस्तो, संस्कृत पढेका कतिपय मानिस कम्युनिस्ट राजनीतिमा जमेका छन्। मेरो लेखन अनुभवमा राणाकाल र त्यसपछिको प्रशासनमा उनीहरूको प्रभाव बढेको थियो। आधुनिक राजनीति तथा संघसंस्थामा पनि उनीहरूको प्रभावशाली उपस्थिति देखिन्थ्यो।
बनारससहितका विभिन्न ठाउँमा पढेका धेरै संस्कृतज्ञ कम्युनिस्ट र गैरकम्युनिस्ट अर्थात् नयाँ राजनीतिक विचारधारामा संलग्न भएका थिए। २००७ सालको आन्दोलनमा सहभागी कतिपय अगुवा राजनीतिक नेताहरू संस्कृत पृष्ठभूमिका थिए। काशीनाथ गौतम, श्रीभद्र शर्मा जस्ता रानीपोखरी पाठशाला (संस्कृत माध्यमिक विद्यालय)मा पढेर बनारस गएका नेताहरू यसका उदाहरण हुन्।
कम्युनिस्टहरूकै सन्दर्भमा चर्चित राजनीतिक पात्रको कुरा गर्ने हो भने लोकप्रिय कम्युनिस्ट नेता मदन भण्डारी संस्कृत पृष्ठभूमिका थिए। जसलाई टाइम म्यागेजिनले कुनैबेला ‘नेपालका कार्ल मार्क्स’ भनेको थियो।
मैले सानैदेखि चिनेका तत्कालीन कम्युनिस्ट नेता मोदनाथ प्रश्रित संस्कृतका धुरन्धर विद्वान् थिए। सुरुमा जातपात मान्ने, परम्परागत सोचमा हुर्केका उनले कालान्तरमा महिलाले हलो जोत्नहुन्छ भन्ने कुरालाई प्रेरित गरे। जातपातको कुरा अस्वीकार गरे। भूतप्रेत हुँदैन पनि भने।
त्यसैगरी, वामपन्थी समालोचक भोजपुरका निनु चापागाईं संस्कृत पढ्दा नै कम्युनिस्ट भएका थिए। यी बाहेक बनारस, अयोध्या, गुजरातमा संस्कृत पढ्ने कतिपय युवा कम्युनिस्ट पार्टीमा पनि आकर्षित भएका थिए।
संस्कृत पढेर समयक्रममा कम्युनिस्ट भएकाहरूलाई मात्र होइन, परम्परागत भनिने संस्कृत पृष्ठभूमिबाट आधुनिक भनिने संघसंस्थामा काम गरिरहेकालाई पनि मानिसहरूले असंगत ठानिरहेका छन्। यस अर्थमा यस लेखको शीर्षकले भन्दा बृहत् रूपमा के सोच्न सकिन्छ भने, परम्परागत भनिने संस्थानबाट मानिसहरू आधुनिक संस्थानमा कसरी प्रवेश गरे? यस प्रश्नले संस्कृत शिक्षाको अर्थ-राजनीतिलाई राम्ररी बोक्छ।
यो प्रश्नबारे बृहत् अध्ययन आवश्यक छ तर यो छोटो लेखमा मैले तीन वटा उदाहरण प्रस्तुत गरेर यो विरोधाभास जस्तो देखिने कुराको व्याख्या गर्ने प्रयत्न गर्छु :
पहिलो, एकपटक म नेपालमा नाम चलेको आर्थिक पत्रिका आर्थिक अभियानका तत्कालीन सम्पादक केशव गौतमकहाँ गएँ। उनको जन्म भोजपुर दिङ्लामा भएको हो। उनले त्यहीँकै प्रसिद्ध संस्कृत पाठशालामा पढेका थिए। दिङ्ला पाठशाला राणाकालीन समयमा खोलिएको थियो। यसबारे मैले मार्टिन चौतारीबाट प्रकाशित समाज अध्ययन २० मा एउटा लेख लेखेको छु।
सम्पादक गौतमसँग म दिङ्ला पाठशालाको कथा सोध्न गएको थिएँ। तर, मलाई पाठशालाको भन्दा उनले फड्को मारेको कथामा रुचि ज्यादा थियो, संस्कृत पृष्ठभूमिबाट उनी कसरी आर्थिक पत्रिकाका सम्पादक भए होलान्?
कुरा खोतल्दै जाँदा थाहा भयो, दिङ्लाबाट हरेक वर्ष दुई जनाले वाल्मीकि क्याम्पसमा पढ्न छात्रवृत्ति पाउने रहेछन्। पढाइमा राम्रो भएकाले उनले पाए तर सधैँ त्यस्तो हुँदैनथ्यो। कहिलेकाहीँ ठूलाबडाका छोराहरूले पनि यो वृत्ति कुम्ल्याउँथे।
छात्रवृत्ति पाउनेहरूलाई त्रिचन्द्र कलेजको सामुन्नेमा रहेको तीनधारा पाकशालामा खाने-बस्ने सुविधा थियो। उनीहरू वाल्मीकि विद्यापीठमा शास्त्री (स्नातक) पढ्थे। उक्त विद्यापीठ अहिलेको शंकरदेव क्याम्पसको उत्तरमा थियो। शास्त्री पढ्दा अनिवार्य अंग्रेजी पढ्नुपर्थ्यो। त्यो मौका केशवले ज्यादै सदुपयोग गरेर पढे। त्यहीबेला ऐच्छिक अर्थशास्त्र पनि लिन पाइन्थ्यो। त्यो पनि लिए।
तीनधारा पाकशालामा बस्दाबस्दै केशव साँझमा त्रिचन्द्र कलेजमा भर्ना भए। त्यस मौकाबाट अर्थशास्त्रमा एमए पनि गरे। संस्कृत शिक्षाले समकक्षता पाएको हुनाले गैरसंस्कृत कलेजमा पनि उनले पढ्न पाएका थिए। नेपालका थुप्रै मानिसले यो समकक्षताको उपयोग गरेका छन्।
नेपाली र अंग्रेजी राम्रो बनाएकाले उनले राष्ट्रिय समाचार समिति (रासस)मा अनुवादकको काम पाए। अर्थशास्त्र पनि पढेको हुनाले त्यहाँ उनले राष्ट्र बैंकका विभिन्न रिपोर्टलाई समाचार बनाउने काम गरे। निकै वर्ष यो अनुभव लिएपछि उनी नेपालको अर्थतन्त्रबारे जान्ने पत्रकार भए। अन्तत: आर्थिक पत्रिकाले उनलाई सम्पादकमा अनुबन्ध गर्यो। आर्थिक अभियान दैनिक रूपमा प्रकाशित हुनुअघि आजको अभियान नाममा साप्ताहिक पत्रिकाका रूपमा प्रकाशन हुन्थ्यो। उनले साप्ताहिक छँदैदेखि काम गर्न थालेका हुन्।
संस्कृत पृष्ठभूमिका मानिसहरू कसरी आधुनिक संस्थानहरूमा फड्को मारे भन्नेमा केशव एक उदाहरण हुन्।
समाजमा विरोधाभास जस्तो देखिने संस्कृतसँग जोडिएका प्रश्नलाई उजिल्याउने अर्को (दोस्रो) उदाहरण खोज्दै एकदिन निनु चापागाईंकहाँ गएँ। उनी भोजपुर दिङ्लाकै षडानन्द संस्कृत विद्यालयमा पढेका र पढाएका मानिस रहेछन्। तर, मैले उनलाई चिन्दा वामपन्थी समालोचकको हिसाबले मात्र चिनेको थिएँ। उनी कसरी कम्युनिस्ट भए, यो प्रश्न मेरो मनमा थियो।
राणाकालीन खरिदार यज्ञनिधि चापागाईंका नाति दण्डपाणि गाउँका मुखिया थिए। उनैका जेठा छोरा थिए, निनु चापागाईं। उनी दिङ्ला पाठशालाबाट छात्रवृत्ति पाएर वाल्मीकिमा संस्कृत पढ्न आउने केशव गौतमभन्दा पुराना छात्र हुन्। उनका अनुसार २०१८ सालतिर उनी काठमाडौँ आएका थिए। त्यो पनि चापागाईं खलकको जेठो छोरालाई काठमाडौँ सुब्दैन भन्ने भाष्यलाई चिर्दै।
मसँगको कुराकानीमा निनुले भनेका थिए, ‘म पढ्न लद्दु थिएँ, छात्रवृत्तिमा राम्रालाई छानेको भए म पर्दिनथेँ।’ अर्थात् उनले छात्रवृत्ति पाउनुमा उनको पारिवारिक पृष्ठभूमिले काम गरेको थियो।
यद्यपि, वाल्मीकिमा आएपछि चापागाईंलाई तीन-चार महिना भर्ना गरिएन। उनको शंका थियो, निनुभन्दा राम्रो मान्छेलाई छात्रवृत्ति नदिएर उसलाई दिएको भनी भोजपुरबाटै आएका कसैले चुक्ली लगाइदिए कि? तर, भोजपुरको पाठशालाले सिफारिस गरेको हुनाले त्यो नगरी सुखै थिएन। त्यतिबेला उनलाई आफू पढ्नमा निकै कमजोर रहेको महसुस भयो। ग्लानि भयो। त्यसपछि उनी छात्रावासको पुस्तकालयमा स्वदेशी, विदेशी र भारतीय किताबहरू पढ्न थाले। बिस्तारै उनी पढन्ते विद्यार्थीमा दरिए।
त्यहीबेला दिङ्लाका कीर्तिरमण चापागाईं (विमल)ले पढाकु निनुलाई साहित्यकार पारिजातसँग भेट गराइदिए। उनका अनुसार पारिजात त्यसबेला बागबजारमा चर्चित एम हाउसभन्दा दक्षिणको घरमा बस्थिन्। उनीसँग विभिन्न विषयका किताबहरू पनि हुने भएकाले पढाइ नभएको बेला पारिजातको डेरा पुग्थे।
२०२८ सालतिर निर्मल लामाको नाम काठमाडौँमा खुब चलेको थियो। विभिन्न संघर्षसँग उनको नाम जोडिएको थियो। त्यसबेला पारिजातले आफ्नी बहिनी सुकन्या वाइबालाई निर्मलसँग बिहे गरिदिने विचार गरेकी थिइन्। त्यसकारण पारिजातकहाँ आउने-जाने मानिसहरूको साइनो निर्मल लामासँग पनि जोडिने नै भयो। यस सन्दर्भमा निनु पनि निर्मल लामासँग जोडिए। यसले कम्युनिस्ट विचारसँग उनको मिलन भयो।
धेरैले म फलानोसँगको संगतबाट कम्युनिस्ट भएँ भन्छन्, तर उसभित्रको आत्माले कसरी त्यसलाई स्विकार्यो, भन्दैनन्। किनभने त्यसमा पारिवारिक पृष्ठभूमि पनि जोडिएको हुन्छ। निनुले पनि मलाई त्यो कुरा भनेनन्। तर, उनी राणाकालीन खरिदारका पनाति र त्यसपछि मुखिया बनेका मानिसका छोरा पनि थिए। उनका बुवा दण्डपाणि २००७ साल वरिपरि नेपाली कांग्रेसमै आबद्ध थिए। तर, त्यतिबेला गाउँघरको परम्परागत शक्तिविरुद्ध स्थानीय कांग्रेसीहरू जाइलाग्ने अवस्था पनि थियो। त्यसैले तह लगाउने मौका छोपेका कांग्रेसीको विपरीत उनले गोरखा परिषद् पार्टीलाई समाते। यो कुरा मैले दण्डपाणिको जीवनी पढेर थाहा पाएको हुँ।
गोरखा परिषद् राणा पृष्ठभूमिका मानिसले खोलेको पार्टी थियो। २००७ साल वरिपरि गाउँका धेरै मुखियाहरूले कांग्रेसको क्रान्तिकारितासँग तर्सेर पार्टी छाडेका थिए। मैले अन्यत्र पनि यस्तो पाएको छु। कालान्तरमा त्यो प्रवृत्ति पञ्चायतमा प्रवेश गर्यो।
तर, पढेलेखेका र समय बुझेका निनु चापागाईं पञ्चायत प्रवेश गरेनन्। नेपाली कांग्रेससँगको पारिवारिक नाता पनि गतिलो रहेन। यस्तो अवस्थामा उनले कम्युनिस्टसँगको संगत स्विकारेको हुन सक्छ, यो मेरो कुरा हो। यद्यपि, उनले मलाई यो कुरा भनेका थिएनन्।
तेस्रो उदाहरणमा म आफ्नै जिल्ला अर्घाखाँची निवासी मोदनाथ प्रश्रितबारे चर्चा गर्छु। पञ्चायतको कुनैबेला पूर्वी नेपालका कम्युनिस्टहरूले उनको तस्बिर आफ्नो सिरानीमाथि टाँसेका हुन्थे रे। पूर्वमा यति लोकप्रिय कम्युनिस्टले २०४८ सालको चुनावमा आफ्नो क्षेत्रबाट हारेका थिए। पछि जित निकाल्न रुपन्देहीबाट उठ्नुपर्यो। तर, यहाँ उनको जीवनको विविध पक्षबारे मैले लेख्न गएको छैन।
संस्कृत शिक्षा लिएका उनी कुनैबेला परम्परावादी सोचका गुरुहरूको हिमायती थिए। पछि नेपाली कांग्रेससँग आबद्ध भए, समयक्रममा उनी कम्युनिस्ट भए। कसरी भए? यो परिवर्तन कसरी आयो भन्ने कुरा जान्न मैले उनको ‘म छुवाछुतको भावनाबाट कसरी मुक्त भएँ?’ भन्ने लेखलाई यहाँ आधार मानेको छु। त्यसमा उनले आफ्नो गाउँ खिदिममा भएको एउटा घटना उल्लेख गरेका छन्।
२०१५ सालमा अर्घाखाँचीको खिदिम गाउँमा श्रीराम मिडिल स्कुल खोलियो। यो साधारण स्कुलमा दलित समुदायलाई शिक्षा दिनुपर्छ भन्ने आवाज केही बाहुन युवाले उठाए। मोदनाथले पढेको हरिहर संस्कृत पाठशाला र श्रीराम स्कुल आमनेसामनेमा थिए। भवनले मात्र होइन, ती स्कुलहरू विचारले पनि आमनेसामने नै भए।
संस्कृत पाठशालाका गुरु-चेलालाई सामुन्नेको स्कुलमा उठेको, ‘दलितलाई पढाउने’ आवाजले उद्वेलित बनाउने नै भयो। दलितलाई पढाउनुपर्छ भन्ने आवाज उनीहरूको लागि हाँक जस्तै सुनियो। पाठशालाका तर्फबाट विरोधको स्वर उठ्यो– कामी-दमाईंलाई पढाउन पाइँदैन।
प्रतिरोधको स्वर साधारण स्कुलका तर्फबाट पनि सुनियो– प्रजातन्त्र आएको छ, किन नपाउने?
दलितलाई पढाउनेतर्फको नेतृत्व श्रीराम स्कुलका शिक्षक नारायण गौतमले गरे। उनलाई साथ दिन तत्कालीन क्रान्तिकारी केही कांग्रेसी अघि सरे। खासगरी काशीनाथ गौतमलगायत नेपाली कांग्रेसका स्थानीय नेताहरूले दलित शिक्षाको समर्थन गरे। परिवर्तनकारी पार्टीबाट आडभरोसा पाएका श्रीराम स्कुलका शिक्षक नारायण गौतमलगायत शिक्षक यस काममा हौसिए। श्रीराम स्कुलमा दलित विद्यार्थीलाई बाहुनका छोराछोरीभन्दा छुट्टै राखेर पढाउन थालिएको थियो। संस्कृतका गुरुहरूले श्रीराम स्कुलको अग्रसरतालाई देखेर धर्मको महाविनाश हुन लागेको, कलियुगको प्रभाव बढेको, समाजका सबै रीतिथिति समाप्त भई पाप र पाखण्डको नांगो नाच हुन थालेको भन्दै आक्रोश पोख्न थाले।
यसै क्रममा नारायण गौतमले गाउँका आफ्ना असाध्यै मिल्ने बालसखा लालबहादुर सुनारका घरमा गई कर्मकाण्डसमेत पढाउन थाले। नारायणले उबेला दलित समुदायका घरमा गएर र बालबालिकालाई डेरामा साँझ-बिहान बोलाएर पढाएका थिए।
२०१५ मंसिरको कुरा हो, मिडिल स्कुल खोलेलगत्तै केही दिनका लागि स्कुल बन्द गरियो। कारण सहअध्यापक नारायण गौतम कामविशेषले गुल्मीको सदरमुकाम तम्घास गएको र अरू शिक्षक पनि उपचारका लागि पाल्पा तानसेन गएको बेला थियो। त्यही मौकामा संस्कृत पाठशालाका गुरुहरूले दलित शिक्षाको विरोधमा पर्चाबाजी गर्न थाले। मोदनाथ प्रश्रित पुरातनपन्थका अगुवा थिए। नारायण गौतम चाहिँ नुतनपन्थका। गौतमले आफ्नो स्वजीवनीमा लेख्छन्, ‘हरिजन शिक्षा विरोधीहरूले हरिजनलाई पढाउन नहुने भन्दै हामीविरुद्ध सूचना टाँसेका रहेछन्।’
मोदनाथ प्रश्रितको संकलनमा रहेको एउटा सूचना यस्तो छ :
सूचना !
खिदिमका जनता हो! विचार गर! हरिजनसँग मिसाई पढाउन छोराछोरी नपठाऊ। जनता धेरै भड्किसकेको छ, विरोध गर्न धेरै संगठित भइसकेको छ! पछि पछुताउला, हलो जोतेजस्तो होला! सावधान रहू! अब जनताले अर्को पार्टी खोल्ने छ! एकदम सावधान रहू जाग!
दुवै धारको संघर्ष चरम हुन थालेपछि २ पुस २०१५ मा हरिहर संस्कृत पाठशालाको आँगनमा धर्मसभा बस्यो। आठ-नौ वर्षको उमेरमा देखेको त्यो धर्मसभा सम्झँदै खिदिम गाउँकै माधवराज गौतम नारायण गौतमको स्मृतिग्रन्थमा लेख्छन्, ‘बाँसको ठूलो लिङ्गोमा पहेँलो कपडामा ‘सनातन धर्मो विजयते’ भन्ने मूलमन्त्र र ओम चिह्न अङ्कित धर्मसभाको झण्डा राखी, एकातिर गुरुहरू र उहाँका तत्कालीन विद्यार्थी शिष्यहरू एवं अर्कोतर्फ उहाँका पूर्वशिष्य, दलित शिक्षाका उन्नायक पण्डित नारायण गौतमबीच कविता र भाषणको माध्यमबाट वादविवाद भयो।’
धर्मसभामा उपस्थितमध्ये दलितलाई पढाउनुहुन्छ भन्ने धारका बौद्धिकहरू खेती स्याहार्न मधेस गएको बेला थियो। तैपनि उनलाई साथ दिने केही मान्छे थिए। वादविवाद सुन्न कम्तीमा पाँचसात सय मानिस त्यहाँ भेला भएका थिए।
निर्णायक मण्डल पनि थियो। तर, नारायण गौतमका विरोधीहरू त्यहाँ धेरै थिए। त्यस सभामा केही पुरोहितहरूले, ‘हामी बरु मर्न तयार छौँ, तर यसरी आफ्नो धर्म र परम्परा मासिएको देख्न सक्तैनौँ’ भनेका थिए।
त्यसपछि श्रीराम मिडिल स्कुलका शिक्षकलाई बोल्न लगाइयो। नारायण गौतमले ‘समयको माग बुझ्नुपर्ने’ तर्क राख्दै शिक्षा पाउनु सबै नेपालीको मौलिक अधिकार भएको बताए। आफ्नो पक्षको थोरै उपस्थिति भए पनि नारायणप्रसादले, ‘आफूले गरेको कामप्रति गौरव छ, त्यस कार्यबाट हामी पछि हट्दैनौँ’ भनेर प्रतिवाद गरे। त्यसपछि संस्कृतका गुरुहरू र त्यहाँ पढ्ने मोदनाथ लगायतका विद्यार्थी मुर्मुरिए।
दिनभर बहस भयो।
अन्त्यमा, चिन्तनले होइन, ह्याकुलाले पेलेर जितेको घोषणा गरियो। ६ महिनासम्म नारायण गौतमलाई ब्राह्मण समाजले सामाजिक बहिष्कार गर्ने घोषणा गर्दै सभा विसर्जन भयो। सामाजिक बहिष्कारस्वरूप नारायणलाई मूलतः श्राद्ध गर्न रोकिएको थियो। अर्कातर्फ, गाउँमा नारायणलाई ‘कामीका गुरु’ भनेर बयान फैलाइएको थियो।
यो घटना चर्काएकामा नारायणलाई ‘गौतम वंशको कपुत’ पनि भनियो। हरिहर पाठशालाका विद्यार्थीले घेरा हाल्ने र अर्कातिर गुरुहरूले फकाउने गरे। केही सीप नलागेपछि उनलाई सामाजिक बहिष्कार गरिएको थियो। नारायण गौतम लेख्छन्, ‘मेरो भातभान्सा बार्ने, पूजापाठ, तिथि श्राद्धमा कोही बाहुन घरमा गएर पूजापाठ नगराउने’ भनियो।
तर, नारायण पछाडि हटेनन्। उनले पर्चा निरन्तर छापिरहे। उनले पुरातनपन्थीहरूको हर्कतको आलोचना गरिरहे, र पद्यमा मात्र नभएर गद्यसमेत पर्चामा टाँसियो। गद्यमा नारायणले पुरोहित प्रवृत्तिको आलोचना गर्दै लेखेका छन् :
‘धेरै दक्षिणा पाए त मगर, घर्तीका घर रुद्री गर्न गराउन पनि शास्त्रले छेकेन। हामी मात्र जान्ने सुन्ने हुने हो भन्दै प्रत्यक्ष मानिसको अधिकार ढाँट्न नछोडेर कहिलेसम्म सत्यवादीको ढोँगी खप्परले मुख ढाकी हिँड्न सकिन्छ! देशकाल परिस्थितिअनुसार विश्वमा चलिआएको प्रगतिको पहरालाई कुहिनाले धक्याउने कुचेष्टाझैँ हरिजन शिक्षा समर्थक साथीहरूको पानी हड्कने धम्कीको धुइरे घाँडो हल्लाई आजको मानव समाज धर्मलाई थर्काउने अप्रजातान्त्रिक कुन्सित भावनाले देशलाई शिक्षित बनाउने पण्डितमय विचारको आडम्बरी बकुलो कत्तिको दृढ भक्त बनी अडिएला!
आज प्रजातान्त्रिक मानव (शिक्षा) अधिकार हरिजन, हरजन, हरिहरजन सबै जनको समान मान्न कर छ, यही सत्यको जय छ!
प्रजातन्त्र, प्रजाधिकार— जिन्दावाद ! राक्षसीतन्त्र— झूठावाद मूर्दावाद !!’
यस्तो पर्चा संघर्ष चारपाँच पटकसम्म चलेको थियो।
निरन्तरको तर्कपूर्ण संघर्षले गर्दा दलित शिक्षाविरोधी कित्तामा उभिएका मोदनाथ प्रश्रितको मथिंगल खलबलियो। मोदनाथ प्रश्रित लेख्छन्, ‘म ठूलो द्वन्द्वमा परेँ। त्यो समयमा मेरो दिमागमा दुई थरी विचार प्रवृत्तिहरूको घमासान युद्ध चल्दै रह्यो। तर मैले आफ्नो त्यो मानसिकी द्वन्द्व आफ्नै साथीहरूको बीचमा पनि राख्न सकिनँ। किनभने नारायणजीको विचार ठीक हो कि भन्ने मेरो मनको तर्कसम्म पनि कसैबाट गुरुहरूसम्म पुग्यो भने ठूलो सास्ती भोग्नुपर्छ भन्ने थाहा थियो।’
‘छात्रवृत्ति नपाइएला कि’ भन्ने डरले आफूले नबोले पनि नारायण गौतमका विचार सही हुन् भन्ने संस्कृत पाठशालाका छात्र प्रश्रितलाई पनि लाग्न थालेको थियो। प्रश्रित लेख्छन्, ‘अनि मेरा कवितामा पनि ती नयाँ विचारहरू व्यक्त हुन थाले। नारायण गौतम र श्रीराम स्कुलका शिक्षकहरूप्रति मेरो मनमा श्रद्धा र सम्मान बढ्दै गयो।’ प्रश्रितले आफ्नो चेतना पुरातनपन्थी धारबाट बदलिएको घटनाको रूपमा यो संघर्षलाई लिएका छन्। यस घटनालाई आफू जातपात र छुवाछूतको भावनाबाट मुक्त भएको दाबी गरेका छन्। यद्यपि, यसका लागि उनले कांग्रेस छाड्नुपर्ने कारण देखिँदैन। भन्नलाई कुनैबेला उनी बनारसमा पुष्पलालको संगतबाट कम्युनिस्ट राजनीतिमा पसेको चर्चा गर्छन्।
कम्युनिस्ट भएपछि उनले आफ्ना कविता, निबन्धमा वर्गीय शोषण, सामाजिक असमानता, परिवर्तनको आवश्यकता देख्थे। उनको महाकाव्य देवासुर संग्रामले परम्परागत हिन्दु आख्यानलाई नयाँ सामाजिक र वर्गीय दृष्टिकोणले व्याख्या गरेको थियो। चर्चित मानव महाकाव्यमा उनले मानव इतिहास देवताको कृपा वा भाग्यले होइन, मानवको श्रम संघर्ष र सामूहिक प्रयासले गरेको चर्चा छ।
माथि उल्लिखित तीन व्यक्तिको उदाहरण व्यक्तिगत अनुभवमा आधारित भए पनि यिनले व्यापक सामाजिक प्रवृत्तिसमेत उजागर गर्छन्। पहिलो, संस्कृत पाठ्यक्रममा आधुनिक शिक्षाको पाठ्यक्रमको प्रभाव त्यति धेरै हुँदैन होला भन्ने मेरो तत्कालीन धारणा केशव गौतमको अनुभवले पूर्णतया खण्डित गराइदियो। वास्तवमा उनी जस्ता धेरैलाई संस्कृत शिक्षा आधुनिक संस्थानमा प्रवेश गर्ने एउटा महत्त्वपूर्ण माध्यम बनेको थियो।
दोस्रो, मेरो विचारमा कसैको संगतले, पत्रिका पढेर उसलाई कम्युनिस्ट वा अरू कुनै विचारधारातर्फ आकर्षित गर्न सक्छ, तर त्यस विचारधारालाई स्विकार्ने वा नस्विकार्ने निर्णय संगत र पढेको आधारमा मात्र हुँदैन। त्यसमा सामाजिक यथार्थ र पारिवारिक पृष्ठभूमिको पनि उत्तिकै प्रभाव रहन्छ।
तेस्रो, मानिस स्वभावत: नयाँ विचार, नयाँ तर्क र परिवर्तित चेतनाप्रति आकर्षित हुन्छ। नारायण गौतम र मोदनाथ प्रश्रित दुवै एउटै पाठशालाका विद्यार्थी हुन्। तर, नयाँ राजनीतिक लहरसँग जोडिने क्रममा अघिपछि भए। यस अर्थमा संस्कृत भनेको भाषा र शिक्षाको एउटा माध्यम मात्र हो। सिकाइ हो। त्यसैले संस्कृत पढेको मानिस रूढिवादी मान्यतामै सीमित रहन्छ भन्ने निष्कर्ष उचित रहँदैन।
केही कारणले संस्कृत शिक्षालाई सामान्यतः परम्परागत शिक्षाका रूपमा बुझिन्छ, यसको शैक्षिक राजनीति त्यति सरल छैन। विशेषतः बनारसमा ‘अंग्रेजी-संस्कृत’ कलेज स्थापना भएपछि संस्कृत शिक्षाले आफ्नो परम्परागत स्वरूप क्रमशः परिवर्तन गर्न थाल्यो। त्यससँगै ग्रन्थ कण्ठस्थ गराउने पुरानो शिक्षण पद्धतिलाई पाठ्यक्रममा आधारित आधुनिक प्रणालीले प्रतिस्थापन गर्यो। कक्षा, तह र परीक्षा प्रणाली लागु गरियो, र संस्कृतसँगै इतिहास, भूगोल, अंग्रेजी, अर्थशास्त्र जस्ता आधुनिक विषयहरू पनि समावेश गरिए। यस प्रक्रियाले संस्कृत शिक्षालाई आधुनिक शिक्षासँग समकक्ष बनाउँदै लग्यो। त्यसैले नै केशव गौतम जस्ता विद्यार्थीहरूले संस्कृतसँगै अंग्रेजी र अर्थशास्त्र अध्ययन गर्न सके।
संस्कृत शिक्षा केवल परम्परागत धार्मिक शिक्षामै सीमित भएको भए पञ्चायतकालको अन्त्यसम्म ७५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मध्ये ४० भन्दा बढी जिल्लामा सीडीओहरू संस्कृत शिक्षाको पृष्ठभूमिबाट आउनु सम्भव हुने थिएन। यसबाट यो शिक्षा आधुनिक राज्यका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने माध्यमसमेत बनेको देखिन्छ।
बरु मेरो आफ्नै अनुभवले देखेको विरोधाभास चाहिँ अर्कै छ। मैले गाउँको विद्यालयमा पढाउँदा विद्यार्थीहरूलाई साँझ-बिहान कम्युनिस्ट सिद्धान्तको प्रशिक्षण दिने एक जना शिक्षकलाई काठमाडौँमा आयोजना गरिएको एक ठूलो धार्मिक कार्यक्रममा देखेँ। उनी मूल पण्डितका रूपमा व्यासासनमै बसेका थिए। जसले इहलोक र परलोकका कुरा गरिरहेको थियो। त्यो दृश्यले मलाई झस्कायो।
संस्कृत पढेका मानिस कम्युनिस्ट हुन सक्ने कुरा त सामान्य थियो तर कम्युनिस्ट विचारधारामा सक्रिय व्यक्ति नै कर्मकाण्ड गराउँदै पण्डितका रूपमा देखिनु मेरो अपेक्षाभन्दा बाहिरको अनुभव थियो। यसरी कम्युनिस्ट पार्टीमा सक्रिय रहँदारहँदै उनीहरूले कर्मकाण्डलाई किन निरन्तरता दिइरहेका छन्? यी प्रश्नहरूले संस्कृत शिक्षा, सामाजिक तथा पारिवारिक व्यवहार र राजनीतिक विचारबीचको सम्बन्धलाई मैले नयाँ ढंगले पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना गरिदिए।
१७ श्रावण २०८३
Source: https://nepalnews.com/2026/08/02/how-did-brahmins-who-studied-sanskrit-become-communists











