समाजलाई विचार, दृष्टिकोण र ज्ञानसहित अग्रगतिमा लैजान बुद्धिजीवीले स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । सत्ताको ताबेदारी, दलाली र चाकडी गर्नु बुद्धिजीवी हुनु होइन ।

तस्बिर : म्याग्निफिकडटकम
What you should know
- नेपाली समाजमा बौद्धिक र बुद्धिजीवीको भूमिकाबारे गहिरो बहस चलिरहेको छ, जसमा सत्ताको चाकडी गर्ने र सत्तालाई खबरदारी गर्ने बौद्धिकबीच स्पष्ट भिन्नता देखिन्छ।
- साँचो बौद्धिकले समाजका अन्तरविरोध, उत्पीडन र असमानतामाथि आलोचनात्मक दृष्टिकोण राख्दै राज्यलाई निरन्तर खबरदारी गर्नुपर्छ भन्ने धारणा प्रस्तुत गरिएको छ।
- सत्ताको दलाली गर्ने, प्रभुत्वशाली वर्गको स्वार्थमा काम गर्ने र उत्पीडित समुदायका सवालमा मौन बस्ने बौद्धिकको नेपाली समाजलाई खासै जरुरत छैन भन्ने निष्कर्ष निकालिएको छ।
सार्वजनिक सञ्चारमाध्यममा केही वर्ष पहिले नेपाली बौद्धिकबारे बहस चलेको थियो । नेपाली समाजका बौद्धिक, बुद्धिजीवी र विचारकबारे पुनः बहस सुरुवात भएको छ । गत ३ जेठमा ‘कान्तिपुर’ मा प्रकाशित राजनीतिक विश्लेषक, लेखक विष्णु सापकोटाको ‘डिपार्चरसँग तर्सेको परम्परावादी वृत्त’ शीर्षक लेखले नेपाली बौद्धिकबारे बहसले निरन्तरता पाइरहेको छ । सापकोटाले प्रधानमन्त्री बालेन र नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको महिमामण्डन मात्रै गरेका छैनन्, ‘पुरानो बौद्धिक’ छटपटाएर आलोचनामा उत्रिएको प्रति रुष्टता पनि व्यक्त गरेका छन् ।
सापकोटाले बौद्धिक ‘नयाँ वा पुराना’ हुन्छन् ? भन्ने सामान्य प्रश्नको समेत व्याख्या गर्न सकेका छैनन् । संसारकै इतिहासमा कुनै पनि बौद्धिकलाई ‘पुराना’ वा ‘नयाँ’ भनेर परिभाषित गरिएको पाइँदैन । लेखमा उल्लिखित ‘पुराना बौद्धिक’ को हुन् ? ‘नयाँ बौद्धिक’ को हुन् ? तिनका बीचमा के भिन्नता हुन्छ ? भन्ने आधारभूत प्रश्नको पनि सपाट उत्तर दिइएको छैन । उनले लेखमा मूलतः तीन वटा आशय व्यक्त गरेको देखिन्छ ।
एक, नेपाली राजनीतिमा बालेनको उदयलाई कुतर्कमार्फत अन्तर्राष्ट्रिय चमत्कारका रूपमा अतिरञ्जित गरिएको छ । यो शासकसँगको चाकडीको अभिव्यक्ति हो, अर्थात् यो निरंकुशतालाई वैधानिकता दिने बौद्धिक उपक्रम हो । दुई, निर्वाचनको परिणामलाई नेपालका वामपन्थी बौद्धिक विचारकै हारका रूपमा सापकोटाले व्याख्या गरेका छन् । लेखले सैद्धान्तिक–वैचारिक दृष्टिकोणबाट राज्यलाई आलोचना र खबरदारी गर्ने बौद्धिक समूहलाई अस्वीकार गर्छ । सैद्धान्तिक रूपमा ‘वामपन्थी’ र ‘कम्युनिस्ट’ बीचको भेदसमेत छुट्याउन नसक्ने बौद्धिक दिवालीपना लेखमा देखिन्छ । उनले जनताले ‘खोक्रो’ विचारधाराबाट मुक्ति खोजेका थिए भन्ने सन्दर्भलाई जोड दिएर उठाएका छन् । तर, देशको अर्थ–राजनीति निश्चित विचार र दृष्टिकोणबाट मात्रै सञ्चालन हुन्छ ।
सामाजिक–आर्थिक अन्तरविरोधलाई बुझ्ने, संश्लेषण गर्ने र समाधानका विधि खोज्ने प्रक्रिया निश्चित वैचारिकीकै आधारमा हुन्छ भन्ने तथ्यसमेत नजरअन्दाज गरिएको छ । जसरी विचारबिना राजनीति सम्भव छैन, त्यसैगरी विचारबिनाको बौद्धिक पनि हुँदैनन् भन्ने तथ्यबारे समेत उनी जानकार छैनन् । तीन, बौद्धिकको मूल्यांकन तिनले समाज, राजनीति, अर्थतन्त्र, संस्कृति वा कुनै महत्त्वपूर्ण क्षेत्रमा पुर्याएको बौद्धिक योगदानका आधारमा हुनुपर्छ । तर, सापकोटाको लेखमा ‘मै ठीक’ र ‘मै अब्बल बौद्धिक’ भन्ने आशय भेटिन्छ, जुन प्रभुत्ववादमा आधारित दम्भको उपज हो । बौद्धिक व्यक्तिमा दम्भ देखिनु त्यति स्वाभाविक होइन ।
बौद्धिकको भूमिका
बौद्धिक र बुद्धिजीवी फरक हुन् । श्रम बजारमा आफ्नो ज्ञानको क्रय–विक्रयबाट जीवन निर्वाह गर्ने बुद्धिजीवी हुन् । तिनले निश्चित परिधिभित्र रहेर कुनै सेवा गर्छन् वा निर्देशित श्रम गर्छन् । यसर्थ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको जागिरे बुद्धिजीवी नै हो । ती संघसंस्थाका आवश्यकताअनुरूप श्रम गर्ने र त्यसैबाट जीविका चलाउने व्यक्ति बौद्धिक होइनन्, मूलतः बुद्धिजीवी हुन् । स्वाभाविक रूपमा तिनले संस्थागत स्वार्थ वा अन्नदाताको स्वार्थको रक्षा वा सेवा गर्छन् । बुद्धिजीवी कुनै मालिकप्रति बफादारी गर्दैन वा नियन्त्रित हुँदैनन् । तिनले स्वतन्त्रतापूर्वक ज्ञान उत्पादन गर्ने, आलोचनात्मक चेतनाको विस्तार गर्ने र राज्यलाई सधैंभरि खबरदारी गरिरहन्छन् । नेपाली बौद्धिक बहसमा बुद्धिजीवी नै सर्वाधिक बौद्धिकका रूपमा स्थापित छन् ।
बौद्धिकले समाजको अन्तर्वस्तु विश्लेषण गर्छन् र नयाँ ज्ञान उत्पादन गर्छन् । केवल सूचना संकलन होइन, ती सूचनालाई निश्चित विश्व दृष्टिकोणका आधारमा विश्लेषण गर्छन् र नयाँ ज्ञानका रूपमा सार्वजनिक गर्छन् । त्यस्ता बौद्धिक खुराकले समाज, राजनीति, अर्थतन्त्रलाई अग्रगतिमा लैजान मद्दत गर्छन् ।
नेपाली राजनीतिमा बालेनको उदयलाई कुतर्कमार्फत अन्तर्राष्ट्रिय चमत्कारका रूपमा अतिरञ्जित गरिएको छ ।नेपाली समाजमा वर्गीय, जातीय, लैंगिक, भाषिक–सांस्कृतिक विविधता छ । ती विविधताबीच अन्तरविरोध पनि छन् । ती अन्तरविरोधको विश्लेषण गर्ने, समस्याको पहिचान र समाधानको दृष्टिकोण बौद्धिकले दिन सक्छन् । तर विडम्बना, नेपालमा बौद्धिक पितृसत्ताको दबदबा छ, महिलालाई बौद्धिकका रूपमा स्वीकार गर्दैन ।
आदिवासी–जनजातिसँग अथाह सांस्कृतिक सभ्यता छ तर समाज आदिवासी–जनजातिलाई सहजै बौद्धिक स्वीकार गर्न तयार छैन । दलित र सीमान्तकृतलाई त नेपाली समाजले बौद्धिकको दर्जामा सुन्न पनि तयार छैन । खसआर्य पुरुष नेपाली समाजका मुख्य बौद्धिक मानिन्छन् । प्रश्न उठ्छ, नेपाली समाजको मुख्य अन्तरविरोध पितृसत्ता र जात व्यवस्थामा आधारित छ । यी सवालमा गहिरो ज्ञान नहुने सार्वजनिक बौद्धिक हुन सक्छन् ?
आलोचनात्मक चेतको विस्तारमा बौद्धिकको निकै ठूलो भूमिका हुन्छ । ऐतिहासिक रूपमा ज्ञान मीमांशा निश्चित जात र वर्गमा सीमित हुँदा तिनले मूलतः सत्ताको रक्षाकवजका रूपमा काम गरे । यस्तो इतिहासले निर्माण गरेका भाष्यलाई चुनौती दिने र वैकल्पिक विचार निर्माण गर्ने काम बौद्धिकको हो । उदाहरणका लागि केही बुद्धिजीवी सीमान्तकृत समुदायलाई दिइएको आरक्षणको घोर विरोध गर्छन् तर इतिहासमा राज्यले उत्पीडित समुदायमाथि गरेको अत्याचार र त्यसले सिंगो समुदायमाथि पुगेको आर्थिक, राजनीतिक, सामाजिक अनि मानसिक क्षतिको हिसाब गर्न तयार हुँदैनन् । राज्य निर्मित भाष्यलाई आलोचनात्मक रूपमा विश्लेषण गर्ने अनि आलोचनात्मक र वैकल्पिक ज्ञान निर्माणमा बौद्धिकको महत्त्वपूर्ण भूमिका रहन्छ ।
सत्ताको चाकडी होइन, खबरदारी गर्ने दायित्व बुद्धिजीवीको हो । दोस्रो विश्वयुद्धलगत्तै अमेरिकन लेखक तथा विचारक ड्वेट म्याक्डोनाल्डले बौद्धिकको भूमिकाबारे लेख लेखेका छन् । सन् १९४७ तिर उनले ‘पोलिटिक्स’ मा प्रकाशित लेखमा युद्ध अन्त्यका नाममा जापानको हिरोसिमा र नागासाकीमा बम हमला गरिनुलाई इतिहासकै ठूलो अपराधका रूपमा व्याख्या गरे । र, यसका लागि मूलतः अमेरिकन जिम्मेवार रहेको विचार लेखिरहे । उनको प्रश्नको आशय थियो, सत्ताको अत्यचारविरुद्ध प्रश्न गर्नु बौद्धिकको कर्तव्य र दायित्व हो । देशमा गरिब, सुकुमवासी, मजदुर, महिला, दलित र सीमान्तकृत समुदायमाथि चरम अत्याचार भइरहँदा ती विषयमाथि नजरअन्दाज गर्नु बौद्धिकले कर्तव्य निर्वाह नगर्नु नै हो । यस्ता बौद्धिकको नेपाली समाजलाई खासै जरुरत छैन ।
वास्तवमा बौद्धिक जमात अत्याचारी व्यवस्थासँग निरन्तर प्रतिरोध गरिरहन्छन् । सन् १९६७ मा अमेरिकी विचारक नोम चोम्स्कीले एक लेखमा लेखेका छन्, ‘मानिसलाई निश्चित, स्पष्ट र सशक्त बनाउन बौद्धिकहरूले सत्य कुरा बोल्नुपर्छ र झूट कुराको पर्दाफास गर्नुपर्छ ।’ अमेरिकी सत्ताको गम्भीर कमजोरीमाथि प्रश्न गर्ने विचारक चोम्स्कीले निरन्तर यस्ता प्रश्न उठाइरहेका छन् वा भनौं विश्व पुँजीवादी सत्तालाई हल्लाउने तर्क गरिरहेका छन् । नेपालका अर्थमन्त्री खुलमखुला पुँजीपति वर्गलाई धनी बनाउने र गरिबलाई झन्–झन् गरिबीको दुष्चक्रमा फसाउने आर्थिक व्यवस्थातिर देशलाई लैजान भरपुर मिहिनेत गरिरहेका छन् । यस्तो आर्थिक प्रणालीले ल्याउन सक्ने चरम असमानताका सन्दर्भमा सार्वजनिक बहस गर्नु बौद्धिक वर्गको दायित्व हो ।
संसदीय व्यवस्थामा प्रतिपक्ष जति बलियो भयो, त्यसले संसदीय लोकतन्त्रलाई उति नै बलियो बनाउँछ । प्रतिपक्षी कमजोर भएको संसद्ले मूलतः अराजकता र निरंकुशताको प्रवर्द्धन गरेका धेरै उदाहरण छन् । त्यस्तै समाजलाई विचार, दृष्टिकोण र ज्ञानसहित अग्रगतिमा लैजान बुद्धिजीवीले स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । सत्ताको ताबेदारी, दलाली र चाकडी गर्नु बुद्धिजीवी हुनु होइन ।
बौद्धिक दलाली प्रवृत्ति
सिद्धान्ततः बौद्धिकहरू सत्तालाई चुनौती दिन्छन् र जनविरोधी हर्कतविरुद्ध सशक्त रूपमा उभिन्छन् । तर, सबै बौद्धिक सत्ता र समाजको प्रतिपक्ष बन्दैनन् । पुस्तौनी सत्ताको शक्ति अभ्यास गरिरहेका, उत्पीडित वर्ग र समुदायमाथि दमन गर्दै आएका निश्चित कुलीन वर्गका बौद्धिकलाई जनताको न्याय–मुक्तिबारे खासै चासो र चिन्ता हुँदैन । त्यसैले त नेपाली सार्वजनिक वृत्तका धेरैजसो कुलीन बौद्धिकलाई न पितृसत्ताको कुनै चासो छ, न जात व्यवस्थाको अन्त्यबारे नै किनकि तिनलाई यही व्यवस्थाबाट सबैभन्दा धेरै फाइदा छ । त्यसैले त तिनले गरिब, सुकुमवासी र भूमिहीनको छातीमाथि डोजरको परेड खेल्ने शासकको महिमामण्डन गर्छन् । जनताको रगतमा होली खेल्ने र आँसुमा पौडिने क्रूर शासकको बर्बरतालाई भव्य र लोकतान्त्रिक ठान्छन् ।
महिलामाथि दैनिक हिंसा हुन्छ, बलात्कार र हत्या हुन्छ, उनीहरू आँखा बन्द गर्छन् । लाखौंका संख्यामा मानिस जातकै कारण दैनिक अपमानित जीवन बाँच्न विवश छन्, प्रत्येक पाइलामा हिंसा बेहोर्न बाध्य छन् । सत्ताको दलाली गर्ने बौद्धिकका लागि यी कुनै पनि विषय मुद्दा बन्दैनन् । गरिबीको चरम संकटमा बाँच्न विवश श्रमजीवी वर्ग एकातिर पुँजीपति शोषणको सिकार भइरहेका छन् भने अर्कोतिर चरम महँगीको मार खेप्न बाध्य छन् । राज्य पुँजीपतिलाई पोस्ने र गरिब, किसान, मजदुर लुट्ने आर्थिक व्यवस्थातिर रफ्तारमा अगाडि बढ्न खोजिरहेको छ । तर, केही बौद्धिक यसैलाई आर्थिक समृद्धि देख्छन् । दैनिक दुई जनाभन्दा धेरै श्रमिक विदेशबाट कफनमा फर्किन बाध्य छन्, राज्य तिनको जीवन मूल्यको कुनै हिसाब राख्दैन ।
इटालियन मार्क्सवादी चिन्तक एन्टोनी ग्राम्स्कीले भनेझैं समाजका कुलीन वर्गले आफ्नो स्वार्थ पूरा गर्न र ज्ञानको एकाधिकार निर्माणका लागि उपलब्ध सबै सार्वजनिक डबली प्रयोग गर्छन् । विशेषगरी शिक्षा, ज्ञान र बौद्धिकताको आवरणमा विगतदेखि नै राणा, शाह वा पार्टीका चाकडी गर्नेकै भीडमा बालेनको चाकडीसम्म आइपुगेको हो । जब उत्पीडित लिंग, जातजाति, भाषा, संस्कृति र समुदायको सवालमा बौद्धिक कर्म गर्ने चाह हुँदैन, तिनले गर्ने सत्ताको चाकडी नै हो । नेपाली सार्वजनिक बौद्धिकमा यस्तो प्रवृत्तिले लामो समयदेखि दबदबा राख्दै आएको छ ।
इटालीका फासीवादी शासक मुसोलिनीलाई बौद्धिक तर फासीवादी ज्ञान दिने ठूलै समूह थियो । गियोभानी जेन्टल र उनको बौद्धिक समूहले मुसोलिनीको फासीवादलाई वैधानिकता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । जर्मनका फासीवादी शासक हिटलरले पनि जोसेफ गोयवल्स, अल्फ्रेड रोजनवर्ग जस्ता बौद्धिकको साथ लिएका थिए । संसारभरका सबैजसो निरंकुश, तानाशाही र दक्षिणपन्थी शासनलाई वैधता दिलाउन बौद्धिक जमातको निकै ठूलो भूमिका छ । यस्ता बौद्धिकले निरंकुश सत्ताको ताबेदारी गर्छन्, सत्ताको भाष्य निर्माणमा लेख लेख्छन्, पुस्तक लेख्छन् । र, जनविरोधी विषाक्त विचारको सम्प्रेषण गर्छन् । नेपाल पनि त्यसबाट अछुतो छैन, सन्की शासकलाई बलियो बनाउने काममा मूलतः बौद्धिक दलालको भूमिका उल्लेख्य रहन्छ ।
नेपालको अर्थ–राजनीतिक व्यवस्थालाई रूपान्तरण गर्ने, जनताको अपेक्षा र आकांक्षालाई सम्बोधन गर्ने, राज्यलाई जवाफदेही बनाउने र दीर्घकालीन रूपमा देशका सबै नागरिकको जीवनस्तर बदल्ने वैचारिकीसहितको बौद्धिकता नेपाली समाजलाई चाहिएको छ । राज्यको निरंकुशता, प्रभुत्वशाली वर्ग–समूहको हैकमवाद र शासकीय दम्भ वा दक्षिणपन्थी शासकका पुजारी बौद्धिकले देशलाई दुर्घटनातिर लैजान भूमिका खेल्छन् । त्यसैले प्रभुत्वशाली सत्तालाई चुनौती दिने र समाजको अग्रगामी रूपान्तरण गर्ने विश्व दृष्टिकोणसहितको बौद्धिक विमर्श जरुरी छ । बौद्धिकले सत्ताको ताबेदारी होइन, निरन्तर खबरदारी गरिरहनुपर्छ ।
जेष्ठ १५, २०८३
स्रोत : https://ekantipur.com/opinion/2026/05/29/who-is-intellectual-who-is-an-intellectual-15-16.html
जेबी विश्वकर्मा








